उत्पत्ति र नामाकरण ऐतिहासिक पृष्ठभूमिको अध्ययनबिना कुनैपनि स्थान तथा ठाउँ विशेषको अध्ययन सधै अधुरो हुन्छ । अछाम जिल्लाको पनि आफ्नै किसिमको ऐतिहासिक
पृष्ठभूमि छ | यस जिल्लाको नामाकरणको सन्दर्भमा निम्न तीन किसिमका जनश्रुतीहरु पाइन्छन् । प्रथम, प्राचीनकालमा भारतीय मुगल साम्राज्यको चर्को दमन र उत्पीडन सहन
नसकी त्यहाँबाट ठूलो संख्यामा हिन्दूहरू बसाइँ सर्न बाध्य भए । घुम्दै हिड्ने क्रममा उनीहरु तत्कालीन नेपालको नौखुवा (वर्तमान अछाम) पुगे । त्यसबेला नौखुवा प्रशस्त मीठो
आँप पाइने स्थानको रुपमा परिचित थियो । अनुकूल हावापानी र प्रशस्त मीठो आँप पाइने भएको कारण घुमन्ते भारतीयहरुका लागि बसोबास गर्न उपयुक्त भएकोले उनीहरु
नौखुवामा बस्न थाले । हिन्दी भाषामा आँपलाई अच्छा आम भनिन्छ । अच्छा आम अपभ्रंस हुँदै जाँदा प्रशस्त मीठो आँप पाइने नौखुवालाई 'अछाम' भनिन थालियो । दोस्रो, डोटी
जिल्लाका ब्राम्हण खानदानका गोपाल खतिवडाका (भट्ट भनिने) चार भाइछोराहरु थिए । उनका चार छोराहरु लल्ल, विलल्ल भाष र प्रभाष थिए । प्रभाषको प्रसिद्ध जुम्ली राजा
देवचन्द्रकी छोरी हार्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे । पछि नौखुवा राज्य उनले विर्ता पाई नौखुवामा शासन गर्न थालेकाले उनीबाट जन्मेका छोरा राजा हुने
र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकोले अचम्म शब्द अपभ्रंस हुँदै 'अछाम' भनिन लाग्यो । तेस्रो, अछामी राजाको मुलथलो बट्टी (बुढो) अछाम अर्थात हाल सेरा
गाविसको क्वालेख भन्ने ठाउँमा थियो । त्यसपछि बान्रीगढी, पुनः क्वालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ । राणाकालीन अवस्थामा अछाम राज्य डोटी राज्यमा गाभिन गई
खाद्यान्न आपूर्तिको केन्द्रको रुपमा रह्यो । पछि अछामको कैलासखोला पश्चिमको भू-भाग डोटी र पूर्वको भू-भाग दैलेख जिल्लामा गाभिन गएको पाइन्छ । वि.सं. २०१४/०१५
सालतिर यहाँका जनताहरुद्वारा तत्कालीन राजा महेन्द्र समक्ष छुट्टै जिल्ला घोषणा गरियोस् भनि बिन्तिपत्र चढाए बमोजिम राजाबाट माल बुझिदिनु भन्ने हुकुम भयो । तत्पश्चात
२०१८ साल वैशाख १ गते अछाम नेपालको मानचित्रमा एउटा छुट्टै जिल्लाको रुपमा 'अछाम' अस्तित्वमा आएको पाइन्छ ।
image="bottom"